काठमाडौं : गरिमा विकास बैंक लिमिटेड ले बैंकिङ सेवाको गुणस्तर र सूचना सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ। बैंकले गुणस्तरीय व्यवस्थापन प्रणालीका लागि ISO 9001:2015 र सूचना सुरक्षा व्यवस्थापनका लागि ISO 27001:2022 प्रमाणपत्र हासिल गरेको हो।
यो उपलब्धिसँगै गरिमा विकास बैंक नेपालका सीमित संस्थामध्ये एक बन्न सफल भएको छ, जसले एकैसाथ सेवा गुणस्तर र डेटा सुरक्षामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ।
बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था Intercert का लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
यस अवसरमा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले ग्राहकलाई अझ सुरक्षित, भरपर्दो र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै सूचना प्रविधि सुरक्षामा निरन्तर सुधार गर्ने बताए।
देशभर फैलिएको १२६ शाखा सञ्जालमार्फत करिब ९ लाख ग्राहकलाई सेवा दिँदै आएको गरिमा विकास बैंकले डिजिटल बैंकिङ, सुरक्षित कारोबार र ग्राहक–केन्द्रित सेवामा निरन्तर नवीनता ल्याउँदै आएको छ।








