काठमाडौं । चर्चित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्को ठूलो भ्रष्टाचार भएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ । आयोगले पूर्वपर्यटनसचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध ४६ करोड रुपैयाँभन्दा बढीको बिगो दाबीसहित आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगद्वारा आइतबार दायर मुद्दामा पूर्वसचिव अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राजन पोख्रेल र प्रदीप अधिकारीसहित रहेका छन् । आयोगले दायर गरेको मुद्दामा चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड तथा परामर्शदाता कम्पनीसमेतलाई प्रतिवादी बनाइएको छ । आयोगले पोखरा विमानस्थलको विषयमा दायर गरेको यो तेस्रो मुद्दा हो ।







