६ चैत, काठमाडौं । मध्यपूर्व तनाव (इरान र इजरायल युद्ध) को बाछिटा नेपालमा पनि देखिन थालेका छन् । आयातमा आधारित अर्थतन्त्र त्यसमा पनि पेट्रोलियम पदार्थको हिस्सा करिब १७ प्रतिशत भएकाले मुद्रास्फीति तथा आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम देखिएको हो ।
नेपालको कुल आयातमध्ये करिब १७ प्रतिशत पेट्रोलियम पदार्थको छ । कुल आयातको करिब ६५ प्रतिशत हिस्सा भारतबाट हुने गर्छ । मध्यपूर्वको तनाव लम्बिएको खण्डमा भारतको बजार पनि प्रभावित हुने भएकाले नेपालमा असर पर्नु स्वभाविक हुने अर्थशास्त्रीहरू बताउँछन् । इनर्जी क्राइसिसको असर मुद्रास्फीतिमा प्रत्यक्ष पर्नेमा अर्थशास्त्रीहरू एकमत देखिन्छन् । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य प्रतिब्यारेल १० डलरले वृद्धि हुँदा ०.४ प्रतिशत विन्दु मुद्रास्फीति थपिने आईएमएफको एक अध्ययनले पनि देखाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्नेवित्तिकै सम्पूर्ण वस्तु तथा सेवाको लागत बढ्ने अर्थशास्त्री डा. गुणाकर भट्टले बताए ।







