काठमाडौँ — खाडी क्षेत्रमा कार्यरत ५० हजारभन्दा बढी नेपाली श्रमिकले आफ्नो अवस्थाबारे सरकारलाई जानकारी गराएका छन् । अमेरिका–इरान युद्धका कारण खाडी क्षेत्रमा तनाव बढ्दै गएपछि सरकारले त्यहाँ कार्यरत नेपाली श्रमिकको विवरण लिन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसपछि कन्सुलर विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा ५१ हजार ४ सय ५ जना नेपाली श्रमिकले विवरण दर्ता गराएका हुन् । विभागले १९ फागुनमा अनलाइन दर्ता प्रणाली सुरु गरेको हो ।
विवरण दर्ता गराएका श्रमिकको अवस्था हेरेर प्राथमिकताका आधारमा उद्धार प्रक्रिया अगाडि बढाइने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘अनलाइनमा आफ्नो अवस्था राखेका आधारमा हामीले को नेपाली सुरक्षित र असुरक्षित भनेर पहिचान गरेका छौं । जसले असुरक्षित भनेर विवरण राखेको छ । उसलाई दूतावासमार्फत बुझ्ने काम हुन्छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘एकदमै असुरक्षित भएको पहिचान भएमा प्राथमिकताका आधारमा उद्धार प्रक्रिया अगाडि बढाइनेछ ।’






