निर्वाचन बिदामा पनि बैंकिङ सेवा निरन्तर सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
निर्वाचन बिदामा पनि बैंकिङ सेवा निरन्तर सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । लगातार सार्वजनिक बिदा र निर्वाचनको माहोलका बीच बैंकिङ सेवा अवरुद्ध नहुने भएको छ। नेपाल राष्ट्र बैंक ले निर्वाचन अवधिभर बैंक तथा वित्तीय संस्थालाई सेवा सञ्चालन गर्न निर्देशन दिएको हो। निर्वाचन आयोग को अनुरोधपछि केन्द्रीय बैंकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदाका दिनसमेत आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन भनेको छ। २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै सरकारले ती दिन सार्वजनिक बिदा घोषणा गरेको छ भने फागुन १८ गते हिमाली र पहाडी ५६ जिल्ला तथा १९ गते तराईका २१ जिल्लामा होली पर्वका कारण बिदा परेको छ।

केन्द्रीय बैंकका अनुसार सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी तथा राजस्व दाखिला सेवा सञ्चालनमा राख्नेछन्। सम्बन्धित शाखा तथा काउन्टरमार्फत राजस्व संकलन, सरकारी भुक्तानी र आवश्यक वित्तीय कारोबार सहज रूपमा गर्न सकिने व्यवस्था मिलाइनेछ। त्यस्तै, निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने संस्थाहरूले राजनीतिक दल तथा उम्मेदवारहरूको नगद, चेक तथा अन्य विनिमय साधनमार्फत हुने दाखिला र भुक्तानीसम्बन्धी बैंकिङ सेवा पनि पाउनेछन्।

निर्वाचन अवधिमा आर्थिक गतिविधि ठप्प नहोस्, राजस्व संकलन प्रभावित नहोस र प्रचारप्रसारसम्बन्धी वित्तीय कारोबार पारदर्शी रूपमा सञ्चालन होस् भन्ने उद्देश्यले यस्तो निर्देशन दिइएको हो। यस व्यवस्थाले सर्वसाधारण, सरकारी निकाय र राजनीतिक दल सबैलाई आवश्यक बैंकिङ सेवामा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

  • MBL - below news