काठमाडौँ । पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२ जारी भएसँगै यो क्षेत्रमा लगानीका लागि बाटो खुलेको छ ।
त्यससँगै सरोकारवालाले लगानीका लागि प्रस्तावसमेत गर्न थालेका छन् । संयुक्त राज्य अमेरिकामा बसोवास गर्ने गैरआवासीय नेपाली (एनआरएन) हरूको पहलमा स्थापना भएको कियान केमिकल्स इन्डस्ट्रिज प्रालिले इथानोल उत्पादनमा १२ अर्ब रुपैयाँसम्म लगानी गर्ने बताएको हो ।
गैरआवासीय नेपाली संघका सल्लाहकारसमेत रहेका कियानका अध्यक्ष वेदप्रसाद खरेलले इथानोल उत्पादनका लागि पर्सा जिल्लाका साथै कोशी र लुम्बिनी प्रदेशमा गरी तीनओटा उद्योग खोल्न प्रस्ताव गरेको बताए । इथानोल उत्पादनका लागि पैरवी गर्दै आएका उनले १२ अर्ब रुपैयाँ लगानीका लागि सरकारसमक्ष प्रस्ताव गरिएको बताए । इथानोल उत्पादनका लागि लगानी गर्न तयार भए पनि कर्मचारीतन्त्रको ढिलासुस्ती र असहयोगका कारण वर्षौंदेखि परियोजना अगाडि बढ्न नसकेको उनले गुनासो गरे ।



