मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिँदै जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौँ रुपैयाँ खर्च भइरहेको छ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष (आ.व.) को ६ महिनाको अवधिमै १ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ सार्वजनिक ऋणको दायित्व व्यहोर्न छुट्याएको थियो, जसमध्ये ४५ दशमलव ५३ प्रतिशत बजेट खर्च भइसकेको छ।
अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिमा आन्तरिक ऋणतर्फ साँवा १ खर्ब २६ अर्ब ७६ करोड र ब्याज २८ अर्ब ३७ करोड गरी जम्मा १ खर्ब ५५ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिएको छ।
बाह्य ऋणतर्फ साँवा २६ अर्ब १३ करोड र ब्याज ५ अर्ब ८५ करोड गरी जम्मा ३१ अर्ब ९९ करोड रुपैयाँ भुक्तानी गरिएको छ।
पछिल्लो एक दशकमा सार्वजनिक ऋण करिब छ गुणाले बढेको छ। एक दशकअघि ५ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ पुगेको थियो। त्यसयता पनि सार्वजनिक ऋण निरन्तर बढ्दो क्रममा छ।



