स्वास्थ्य बीमा कार्यक्रममा देखिएको गम्भीर आर्थिक संकट टार्न एक महिनाको वृद्ध भत्ता रोक्न प्रस्ताव गरिएको छ । अर्थसचिव घनश्याम उपाध्यायले वैकल्पिक स्रोत व्यवस्थापनका लागि वृद्ध भत्ताको बजेट स्वास्थ्य बीमामा लैजाने सुझाव दिएका छन् । उनले तत्कालका लागि ज्येष्ठ नागरिकले पाउने एक महिनाको भत्ता रोक्दै स्रोत जुटाउन सकिने विकल्प अघि सारेका हुन् ।
अर्थसचिव उपाध्यायका अनुसार हाल ७० वर्ष उमेर पुगेका करिब १२ लाख नागरिक रहेका छन् । उनीहरूलाई दिइने एक महिनाको वृद्ध भत्ता रोक्दा करिब ४ देखि ५ अर्ब रुपैयाँ संकलन हुने र सो रकम स्वास्थ्य बीमा कार्यक्रममा प्रयोग गर्न सकिने उनको तर्क छ । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमका लागि तत्काल १४ अर्ब बजेट आवश्यक देखिएको जनाएको छ ।



