काठमाडौं- निर्वाचनका कारण १० दिनमै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् ।
नेपाल आयल निगमकाअनुसार चुनावका बेला पेट्रोलियम पदार्थ खपत ह्वातै बढ्ने भएकाले त्यसैलाइ लक्षित गरेर इन्धन व्यवस्थापनको तयारी सुरु गरिएको छ । सामान्य अवस्थामा भन्दा चाडपर्वमा जस्तै चुनावमा पनि ठूलो परिणाममा पेट्रोलियम पदार्थ खपत हुने अनुमानसहित निगमले सोही अनुसारको इन्धन व्यवस्थापनका लागि तयारी थालेको अधिकारीहरुले बताएका छन् ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले चाडपर्वमा जस्तै चुनावका लागि आयाल निगमले इन्धन भण्डारण पर्याप्त गर्न सबै डिपोहरुलाई निर्देशन दिन लागेको बताए । उनकाअनुसार चुनाव आसपासमा केही दिन नाकाहरु समेत बन्द हुने भएकाले सोही अनुसारको इन्धन व्यवस्थापन गर्न डिपोलाई निर्देशन दिइँदैछ ।



