नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने तयारीलाई तीव्र बनाएको छ । मन्त्रिपरिषद्बाट पेट्रोलमा इथानोल प्रयोगसम्बन्धी आदेश स्वीकृत भएसँगै निगमले आयातित पेट्रोलमा निर्भरता घटाउने, विदेशी मुद्रा सञ्चिति जोगाउने र वातावरणमैत्री ऊर्जातर्फ जाने उद्देश्यका साथ कार्यान्वयनको चरणमा अघि बढ्ने तयारी गरेको हो ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार ११ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने आदेश, २०८२’ स्वीकृत गरेको छ । उनले २०६० सालमै सरकारले पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने निर्णय गरे पनि लामो समयसम्म कार्यान्वयनमा जान नसकेको स्मरण गर्दै अब भने यसलाई व्यवहारमा उतार्ने वातावरण बनेको बताए ।



