काठमाडौँ — नेपालमा सञ्चालित उद्योग आधाभन्दा कम क्षमता उपयोगमा सञ्चालन भइरहेको राष्ट्र बैंकको आर्थिक गतिविधि प्रतिवेदनले औंल्याएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा देशभरका उद्योगको क्षमता उपयोग औसत ४४.५ प्रतिशत रहेको प्रतिवेदनको निष्कर्ष छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योगहरूको क्षमता उपयोग औसत ३.८ प्रतिशत बिन्दुले कम हो ।
आर्थिक वर्ष २०८०/८१ मा उद्योगहरूको औसत क्षमता उपयोग ४८.३ प्रतिशत थियो । सडक पूर्वाधार सहज नहुँदा उद्योगका लागि कच्चा पदार्थ ढुवानी र उत्पादित वस्तुको बजारीकरणमा समस्या उत्पन्न हुनु, युवाहरू विदेश पलायन हुँदा श्रमिक घट्नु, अपेक्षित रूपमा पुँजीगत खर्च नहुनु, बजार माग घट्नु र औद्योगिक क्षेत्रमा अझै पनि समस्या रहनुलाई प्रतिवेदनले क्षमता उपयोग घट्नुको कारण मानेको छ ।


