सन् २०२५ मा साढे ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार २०२५ को जनवरीदेखि डिसेम्बर अन्त्यसम्म ११ लाख ५८ हजार ४५९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो अघिल्लो वर्ष भन्दा १ प्रतिशतले मात्रै बढी हो।
सन् २०२४ मा ११ लाख ४७ हजार ५ सय ४८ जनाले नेपाल भ्रमण गरेका थिए। कोभिड अगाडि सन् २०१९ मा भने नेपालको पर्यटक आगमन ११ लाख ९७ हजार १९१ थियो। कोभिड अगाडिको तथ्यांकसँग तुलना गर्दा सन् २०२५ मा ३.२ प्रतिशत कम पर्यटक मात्रै नेपाल भ्रमणमा आएका छन् ।
टप फाइभ देशमा भारत अगाडि
नेपालमा धेरै पर्यटक आउने पहिलो देशमा भारत रहेको छ । भारतबाट सन् २०२५ मा २ लाख ९२ हजार ४ सय ३८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो कुल पर्यटकको २५.२ प्रतिशत हो । त्यस्तै दोस्रोमा संयुक्त राज्य अमेरिका रहेका छन् । अमेरिकाबाट सन् २०२५ मा १ लाख १२ हजार ३१६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो कुल पर्यटकको ९.७ प्रतिशत हो ।



