काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालका उद्योगको औसत औद्योगिक क्षमता उपयोग घटेर ४४ दशमलव ५ प्रतिशतमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा औसत क्षमता उपयोग ४८ दशमलव ३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
क्षमता उपयोगका आधारमा समीक्षा वर्षमा टायर तथा ट्युब उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९० दशमलव ७ प्रतिशत रहेको छ भने वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम १ दशमलव १० प्रतिशत मात्र रहेको छ ।
अध्ययनमा समेटिएका उद्योगमध्ये वनस्पति घिउ, भटमासको तेल, बिस्कुट, चाउचाउ, वियर, चुरोट, सिन्थेटिक कपडा, लत्ता कपडा अन्तर्गत अन्य, कच्चा छाला, प्लाईउड, ट्याब्लेट औषधि, क्याप्सुल, ओइन्टमेन्ट, ड्राई सिरप, लिक्वीड, साबुन, प्लास्टिकका सामान, फलामको छड तथा पत्ति, स्टिलजन्य उत्पादन, जिआई पाईप र ट्रान्सफर्मर उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको छ । यद्यपि तोरीको तेल, प्रशोधित दूध, चामल, गहुँको पिठो, पशुदाना, चिनी, चकलेट, प्रशोधित चिया, मदिरा, हल्का पेय पदार्थ, जुत्ता, चप्पल र बिजुली उत्पादन गर्ने उद्योगको क्षमता उपयोग घटेको छ ।



