शेयरबजारमा हरेक वर्ष कुनै न कुनै विवाद आइरहेको सन्दर्भमा शेयरबजार र विवाद एकअर्काका परिपूरक जस्तै बनेको छ । २०७५ सालको बजेट वक्तव्य लगत्तै आन्तरिक राजस्व विभाग (आरावि)ले सिडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएस)लाई दिएको निर्देशनपछि सरकारी स्तरबाट शुरू भएको करसम्बन्धी विवादले १ वर्ष अवधि पूरा गरिसक्दा पनि टुंगिनुको सट्टा झन्झन् कसिंँदै छ । शेयर कारोबारमा कर गणनाका लागि २०६५ साल मङ्सिरमा मन्त्रीस्तरीय तदर्थ पाराले गरिएको गणना विधि १० वर्षभन्दा बढी समय चल्यो । यो विधिले पनि हकप्रद र बोनस दुवै शेयरमा घाटामा कर तिराएको थियो । यसैलाई विस्थापन गर्दै गतवर्ष आराविले दिएको निर्देशन सर्वस्व नै लिने किसिमको थियो ।
आराविको आदेशपछि
आराविले हकप्रद र बोनस शेयरको कर गणना अंकित मूल्यलाई आधार मानेर गर्न निर्देशन दिएपछि एक दिन शेयर कारोबार नै ठप्प भयो । यसैको परिमाणस्वरूप सरकारले अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन ग¥यो । उक्त कार्यदलले भारित औसत विधिबाट लागत गणना गरी कर लगाउन सुझाव दिएको अनौपचारिक रूपमा बाहिर आयो । तर, प्रतिवेदन कस्तो थियो भन्ने सार्वजनिक भएन । आर्थिक वर्ष (आव) २०७६/७७ को बजेट वक्तव्य र आर्थिक विधेयकमा आयकर ऐन २०५८ मा दफा ९५क (२) पछि उपदफा २क थप गरी ‘लाभकर गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गर्नुपर्नेछ’ भन्ने व्यवस्था थप गरियो । यो व्यवस्थाले वास्तविक लागत यकिन गर्न सकिन्थ्यो र सोही बमोजिम हितको निःसर्ग हुँदा लाभकर गणना हुन्थ्यो । आर्थिक विधेयकले संशोधन (थप) गरेको व्यवस्था साउन १ गतेबाट लागु भयो । तर, दुर्भाग्य लाभकर गणनामा गाँठो पर्ने क्रम बढ्यो तर फुकाउने कसले भन्नेमा ‘तैं चुप मै चुप’ को स्थिति बनेको छ । अर्थ मन्त्रालयमा विभिन्न पटक छलफल चले पनि आधार मूल्यको विषयमा कुनै टुंगोमा पुग्न सकेको छैन । अहिलेसम्म पनि यसको कुनै निष्कर्ष निस्केको छैन ।
विभिन्न मूल्य
लागत गणना विधि लागू भयो । तर, साउन १ गतेभन्दा अघि कारोबार भएका शेयरको आधार मूल्य कति कायम गर्ने भन्ने विषय टुंगोमा पुग्न सकेन । शेयरका अंकित, प्रिमियम, समायोजन, आधार र औसत मूल्य हुने गर्छ । शेयरको तोकिएको वा परल अंकित मूल्य हो, यसलाई प्रचलित कम्पनी कानूनले १ सय रुपैयाँ तोकेको छ । यो शेयर जारी गर्दाको मूल्य हो । यसबाहेक, अंकित मूल्यमा केही रकम थप गरेर पनि शेयर जारी हुन सक्छ यसलाई प्रिमियम मूल्य भनिन्छ । हकप्रद र बोनस शेयर जारी भएपछि स्टक एक्सचेन्जले सोही अनुपात (हकप्रद र बोनस) मा मूल्यलाई समायोजित गरेर कायम गर्ने समायोजन मूल्य हो । कर प्रयोजनको लागि निर्धारण गरिने आधार मूल्य हो । यसअघि हकप्रद र बोनस शेयर जारी भएपछि समायोजन गरिएको मूल्य र अघिल्लोपटक कायम रहको आधार मूल्यको योगलाई दुईले भाग गरेर कर प्रयोजनका लागि आधार मूल्य निर्धारण हुने गरेको अभ्यास थियो । आधार मूल्य शेयरबजारमा मात्र नभएर अन्यत्र पनि हुनसक्छ । कुनै पनि चिज वा वस्तुको विभिन्न मूल्य जोडी त्यसलाई चिज वा वस्तुको संख्याले भाग गरेर निकालिने सरदर मापन औसत मूल्य हो । औसत मूल्यको हिसाब साधारण व्यावहारिक गणित हो । मूल्य सम्बन्धी यी साना तर महŒवपूर्ण पक्ष बुझेपछि शेयर कारोबारमा के गर्ने भन्ने विषयमा केही हदसम्म निष्कर्षमा पुग्न सकिने आधार प्राप्त हुन सक्छ ।
अलमलै अलमल
.............








