काठमाडौँ — गत कात्तिकसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४४.६९ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । गत असोजको तुलनामा कात्तिकसम्म तिर्न बाँकी सार्वजनिक ऋण केही बढेको छ । गत असोजसम्म तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ थियो ।
तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७५ अर्ब ९६ करोड (जीडीपीको २०.८९ प्रतिशत) र बाह्य १४ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँ (जीडीपीको २३.८० प्रतिशत) रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ । गत असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड रुपैयाँ थपिएको हो ।




