काठमाडौं । साउनदेखि कात्तिकसम्मको पहिलो चार महिनामा नेपालले गरेको वैदेशिक व्यापार २४ दशमलव १८ प्रतिशतले बढेर ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
भन्सार विभागका अनुसार कुल व्यापार गतिविधि विस्तार भए पनि आयातप्रधान संरचना, पेट्रोलियम पदार्थमा निर्भरता, उच्च व्यापार घाटा र अस्थिर निर्यात संरचनाजस्ता चुनौती यथावत् रहेको देखाएको छ ।
वैदेशिक व्यापारमा २४ प्रतिशतले वृद्धि
चालू आर्थिक वर्ष २०८२–८३ को साउनदेखि कात्तिकसम्मका पहिलो चार महिनामा नेपालले ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँबराबरको सामान आयात गरेको भन्सार विभागको विवरणले देखाएको छ । कुल आयात रकमसँगै सरकारले समान अवधिमा १ खर्ब ५७ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । तथ्यांकले देशको व्यापार संरचना अझै पनि इन्धन, कच्चा तेल र उपभोग्य वस्तुको आयातमा अत्यधिक निर्भर रहेको स्पष्ट संकेत गरेको छ ।





