काठमाडौँ । सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जिडीपी) आर्थिक वर्ष २०८१/८२ मा रू. ४ खर्ब ३० अर्ब रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ अनुसार प्रदेशको आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३ दशमलव ३२ प्रतिशत रहने उल्लेख छ ।
प्रादेशिक जिडीपीमा सबैभन्दा ठूलो योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहेको छ, जसको हिस्सा ३४ दशमलव ७२ प्रतिशत छ । प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान भने शून्य दशमलव १३ प्रतिशतमा सीमित रहने अनुमान छ । अघिल्लो आर्थिक वर्षमा पनि यिनै दुई क्षेत्र क्रमशः सबैभन्दा धेरै र कम योगदान हुने क्षेत्रमा रहेका थिए ।





