काठमाडौँ । भारत सरकारले नेपालतर्फ आउने सामान ढुवानी प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यले इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (ईसीटीएस) को दायरा विस्तार गरेको छ ।
नयाँ व्यवस्थाअनुसार अब थप भारतीय बन्दरगाहहरू र रेल–सडक मार्गमार्फत पारवहन (ट्रान्जिट) कार्गो पठाउन सकिनेछ । भारतीय अधिकारीहरूले यस कदमले ढुवानी प्रक्रिया सरल बनाउने, समय घटाउने, प्रमुख बन्दरगाहहरूमा दबाब कम हुने र कार्गोको सुरक्षा अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी)ले सन् २०१९ मा लागू गरिएको ‘इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणालीअन्तर्गत नेपालतर्फको कार्गो पारवहनसम्बन्धी विनियम’ संशोधन गर्दै साताअघि नयाँ सूचना जारी गरेको हो । उक्त निर्णय तत्काल कार्यान्वयनमा आएको सीबीआईसीले भारतीय सञ्चारमाध्यममार्फत जानकारी दिएको छ ।
ईसीटीएस प्रविधिमा आधारित छ, जसले ट्रान्जिटको क्रममा कार्गोको अवस्थिति र सुरक्षाको वास्तविक समयमै निगरानी गर्न सम्भव बनाउँछ । जीपीएस वा जीपीआरएस इलेक्ट्रोनिक सिल र सेन्सरहरू जडान गरिएका कन्टेनरमार्फत कार्गोको स्थिति सीमा शुल्क अधिकारी तथा व्यापारीले अनलाइन हेर्न सक्ने र यसले व्यापारमा पारदर्शिता ल्याउने, कर छलिने सम्भावना घटाउने र ढुवानी दक्षता बढाउने मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठी बताउँछन् ।




