काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सर्वोच्च अदालतलाई पठाएको एक पत्रका आधारमा कृषि विकास सहकारीका मुख्य सञ्चालक तेजविक्रम थापा र उनकी श्रीमती सजना राजकर्णिकार थुनामुक्त भएको रहस्य बाहिरिएको छ। सहकारी पीडितका अनुसार यिनीहरूमाथि करिब २ अर्ब ८२ करोड रुपैयाँको घोटाला (अपचलन) गरेको आरोप छ।
ललितपुरको कुमारी पार्टीमा रहेको कृषि विकास सहकारीका सञ्चालक थापा र उनकी श्रीमती राजकर्णिकारलाई पीडितको पैसा खाएको र अपचलन गरेको आरोपमा थुनामा राखिएको थियो। तर, थापाकी श्रीमती सजना राजकर्णिकारले केन्द्रीय कारागार कार्यालयभित्रैबाट साँठगाँठ गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्य–सचिव केशवप्रसाद पौडेललाई चिठी लेख्न लगाएको आरोप छ।





