राष्ट्र बैंकको प्रकाशित तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गत भदौमा कर्जामा लिइरहेको ब्याजदर औसत ७.६६ प्रतिशत छ।
उपलब्ध तथ्यांक अनुसार यो करिब १४ वर्षयता कै न्यून हो। २०६८ फागुनयता राष्ट्र बैंकले मासिक रूपमा औसत ब्याजदर सार्वजनिक गर्न थालेको हो। अहिले आएको कर्जाको ब्याजदर त्यसयताकै न्यून हो।
त्यसअघि भने राष्ट्र बैंकले बैंकिङ क्षेत्रको न्यूनतम र अधिकतम ब्याजदरको तथ्यांक सार्वजनिक गर्ने गरेको थियो।
२०६८ ताका बैंकहरूको औसत ब्याजदर १४ प्रतिशतभन्दा माथि थियो। त्यसयता कर्जाको औसत ब्याजदर एकाध पटक ८ प्रतिशतसम्म तल ओर्लिएको थियो। अहिले ब्याजदर ८ प्रतिशतभन्दा पनि तल आइपुगेको हो।





