दशैंबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार खुला राखिने


दशैंबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार खुला राखिने

काठमाडौँ – अर्थ मन्त्रालयले दशैंको दिनबाहेक अन्य सार्वजनिक बिदाका दिन बैंक र भन्सार खुला राख्ने निर्णय गरेको छ।

मंगलबार मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले पहिरोका कारण अवरुद्ध भएको तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले प्रयास गरिरहेको जानकारी दिएका छन्।

त्यस्तै, अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रसँगको संवादमा एकीकृत व्यापार पुनरुत्थान योजना ल्याउने तयारीमा रहेको र कर तथा मौद्रिक नीतिबाट व्यवसायीलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताए।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले कर सहुलियत, सहुलियतपूर्ण कर्जा र बीमा रकम यथाशीघ्र भुक्तानीको माग गरेका थिए।

अर्थमन्त्री खनालले उद्योगी/व्यवसायीको मागलाई ध्यानमा राख्दै आगामी नीति तथा योजना तयार गर्ने आश्वासन दिएका छन्।