काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारमा तीन जना नयाँ मन्त्री नियुक्त गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पूर्वअर्थ सचिव रामेश्वर खनालले अर्थमन्त्री, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अधिवक्ता ओमप्रकाश अर्यालले गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी लिएर शपथ गरेका हुन्।
शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसहितका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।
खनाल र घिसिङ दुबै विगतमा पाएको भूमिकामा सुशासन र पारदर्शिता कायम गर्न सक्षम व्यक्तिका रूपमा चिनिँदै आएका छन्। उनीहरूलाई हालको जेन–जी आन्दोलनमा सहभागी युवाहरूले पनि समर्थन गरेका थिए। अधिवक्ता अर्यालले आन्दोलनका मागलाई कानुनी पक्षबाट अघि बढाउने कार्यमा सक्रिय भूमिका खेलेका थिए।
प्रधानमन्त्री कार्कीले अन्य मन्त्रालयहरूमा नियुक्ति गर्ने प्रक्रियामा समेत जेन–जी आन्दोलनमा सहभागी युवाहरूसँग निरन्तर छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।


