काठमाडौं । मुलुक असामान्य परिस्थितिबाट गुज्रिरहेको बेला नेपाल बैंकर्स एसोसिएसनले आजदेखि बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ।
संघका अनुसार काठमाडौं उपत्यकाभित्र मुख्य कार्यालयसहित तीन शाखा, ललितपुर र भक्तपुरमा दुई–दुई शाखा सीमित कर्मचारीसहित खोलिनेछन्। काठमाडौं बाहिरका शाखा भने स्थानीय सुरक्षा निकायसँगको समन्वयमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
यससँगै, चेक क्लियरिङ प्रक्रिया पूर्ण क्षमतासहित सञ्चालन हुने भएको छ भने रेमिट्यान्स विभाग पनि विदेशी मुद्राको विनिमयका लागि सीमित समयका लागि खुला रहने बताइएको छ।
सार्वजनिक सेवामा अवरोध नहोस् भन्ने उद्देश्यले एटीएम सेवाहरू निरन्तर सञ्चालन हुनेछन्। यस्तै, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र क्यूआर भुक्तानीसहितका डिजिटल कारोबार प्रणाली अझै सशक्त बनाउन सबै बैंकलाई निर्देशन दिइएको छ।
बैंकर्स एसोसिएसनले वित्तीय कारोबार रोकिँदा बजारमा अस्थिरता आउने भएकाले जनजीवनलाई सहज बनाउन यो कदम उठाइएको स्पष्ट पारेको छ।


