गभर्नर डा. विश्व पौडेलका भैँसेपाटी र चितवनस्थित घरमा आक्रमण


गभर्नर डा. विश्व पौडेलका भैँसेपाटी र चितवनस्थित घरमा आक्रमण

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलका दुई आवासीय घर आक्रमणमा परेका छन्। चितवनस्थित गाउँको घरमा ढुङ्गा प्रहार र आमाबुबा बस्ने कोठा लक्षित भएको आक्रमण भएको उनले गुनासो गरेका छन् भने राजधानीको भैँसेपाटीस्थित घर आगलागीमा परी पूर्ण रूपमा जलेको छ। गभर्नरले सामाजिक सञ्जालमार्फत भिडियो र भावुक टिप्पणी सार्वजनिक गर्दै घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।

गभर्नरले लेखेका छन्, “यस भिडियोमा शुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षीया बुढी आमाको सुत्ने कोठा हो। उहाँले भर्खरै मुटुको अपरेसन गर्नुभएको छ। यो मेरो गाउँको घर हो। गभर्नर भएपछि पनि हरेक हप्तामा एक छाक भए पनि बाआमासँग खाना खान पुग्थेँ। बा ले लगभग १५ वर्षअघि म विद्यार्थी हुँदा बनाएको घर हो।”

उनका अनुसार उनका बा हाल ८७ वर्षका छन्। “केही अघि रक्ताल्पता भएर बाँच्नुहुन्न कि जस्तो भएकोमा अहिले स्वास्थ्यमा सुधार हुँदै थियो,” उनले भनेका छन्।

पौडेलले आफ्नो जीवन र परिवारको पृष्ठभूमि उल्लेख गर्दै थपेका छन्, “६७ वर्षअघि चितवन झर्नुभएका बा–आमाका सबै सन्तान यही जन्मेका हुन्। जिन्दगीमा मैले कसैसँग एक रुपैयाँ मागेको छैन, दिएको मात्र छु। चितवनमा सधैं कक्षामा प्रथम हुन्थेँ। गाउँकै सुविधा नभएको स्कुलमा पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बसेर केयुमा प्राध्यापक भएँ। बा आमा दुबै साधारण लेखपढ गर्न जान्नुहुन्छ।”

आक्रमणप्रति आक्रोश व्यक्त गर्दै उनले भनेका छन्, “मेरो रिस मेरो भैँसेपटिको घर जलाएर नपुगी मेरा वृद्ध बा–आमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस–फुलोस।”

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नरको भैसेपाटीस्थित आवासीय घर आगलागीमा परी पूर्ण रूपमा जलेको छ। उक्त घरमा गभर्नर परिवारसहित बस्दै आएका थिए।

गभर्नरले फेसबुकमा लेखेका छन्, “श्रीमती र मेरी ९ वर्षकी छोरीलाई यो घर धेरै मन पर्ने भएकोले गभर्नर भएपछि पनि यही बस्यौं। गाडी पार्क गर्न मिल्ने जमिन नभएको भन्दै सुरुमा स्टाफले कमेन्ट गरेका थिए तर भित्र यसको बनावट सुन्दर थियो। माथिल्लो तल्लामा किताबैकिताब, इबे आदिबाट किनिएका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा ल्याइएका कलाकृति, देव–देवताका मूर्ति, भियतनामी सिल्क पेन्टिङदेखि लिएर माओत्सेतुङसम्मका मूर्ति थिए। जम्मा ५०० प्रतिमध्ये प्रकाशित जंगबहादुरकी प्रेमिका लौरा बेलको जीवनी पनि त्यही थियो।”

उनले थप उल्लेख गरेका छन्, “छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यही थियो। बा–आमाको फोटो, छोरीको सानो छदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाइयो। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको मन्त्रेको खेलौना थियो, राति नतर्सियोस् भनेर सुत्दा च्यापेर दिने गर्थ्यौं। त्यो खेलौना समेत कुल्चिएर आगो लगाइयो।”

गभर्नरका अनुसार आगलागीको रातमा श्रीमती र छोरी नजिकैको घरमा, आफैं भने टाढा अर्को ठाउँमा बसेका थिए। “त्यो दिन हामी सबै शरणार्थी भयौं। किताब र कपडाहरू धेरै भएकाले ढिलोसम्म नै घर जलिरह्यो। राति पनि केही व्यक्तिहरू आएर बेलाबेलामा ढुङ्गा हानेर सामान चोरेर गइरहेका थिए भनेर छिमेकीहरूले सुनाए,” उनले लेखेका छन्।

पीडादायी अवस्थामाझ पनि उनले अन्य प्रभावितहरूको बारेमा चिन्ता व्यक्त गर्दै भनेका छन्, “धेरै साथीहरूले मलाई फोन गरेर सोध्दा मैले ‘ठिकै छ’ भनेको छु। हिजो राति म भन्दा पनि पीडामा परेका व्यक्तिहरूबारे पढेँ। त्यसैले सबैलाई सूचना होस् भनेर जलिरहेको मेरो घरको भिडियो पोस्ट गरेको हुँ।”

गभर्नरले अन्त्यमा लेखेका छन्, “अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र। नयाँ सरकार बन्दै छ। कसैलाई मैले दुई पैसा कसैको खाएको वा मागेको खबर भए रिपोर्ट गरे हुन्छ। यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहा छ।”