काठमाडौं - देशभर फैलिएका जेनजी प्रदर्शन र प्रशासनले लागू गरेको कर्फ्युका कारण आज बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन्।
काठमाडौं उपत्यकाको चक्रपथभित्र निषेधाज्ञा जारी गरिएको छ भने देशका विभिन्न सहरमा पनि कर्फ्यु लागू गरिएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै नेपाल बैंकर्स संघले मंगलबार बैंकका शाखा खोल्ने योजना नराख्ने निर्णय गरेको हो।
नेपाल बैंकर्स संघका अनुसार, निषेधाज्ञा लागू भएका क्षेत्रका बैंक शाखा आज नखोलिने निर्णय गरिएको छ। निषेधाज्ञा नभएका क्षेत्रका शाखा पनि कर्मचारीहरू अन्य स्थानबाट आउनुपर्ने भएकाले सञ्चालन गर्न कठिनाइ हुने देखिएको छ। यो निर्णय नेपाल राष्ट्र बैंकसँग समन्वय गरी लिइएको हो।
बैंकर्स संघले अन्यत्र प्रदर्शन फैलने सम्भावना र वित्तीय संस्थामा तोडफोड वा आगजनीको जोखिमको मूल्याङ्कन पनि गरेको जनाएको छ।
सोमबारको प्रदर्शनमा राज्यको दमनकारी कदमका कारण १९ जनाको मृत्यु भएको र सयौं युवा घाइते भएका थिए। मंगलबारको सम्भावित जोखिमलाई मध्यनजर गर्दै देशका विभिन्न स्थानमा कर्फ्यु जारी गरिएको छ।


