काठमाडौँ - जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश लागू गरेको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार बालकुमारी पुलदेखि कोटेश्वर, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको सम्पूर्ण चक्रपथ क्षेत्रमा कर्फ्यु जारी गरिएको हो।
कर्फ्यु अवधिमा अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सबै प्रकारका यातायात आवागमन, सभा, जुलुस वा प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
यसअघि हिजो भएको जेनजी युवाको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि काठमाडौँ उपत्यकामा अवस्था तनावग्रस्त बनेको थियो। त्यही घटनापछि सुरक्षात्मक कदमस्वरूप कर्फ्यु आदेश जारी गरिएको हो।


