जेनजी आन्दोलनको हिंसात्मक घटनापछि गृहमन्त्री रमेश लेखकको राजीनामा


जेनजी आन्दोलनको हिंसात्मक घटनापछि गृहमन्त्री रमेश लेखकको राजीनामा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनापछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

गृहमन्त्री लेखकले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएका हुन्। मन्त्रिपरिषद् बैठक जारी रहेको समयमा उनले राजीनामा बुझाएको कुरा उनका सचिवालयले पुष्टि गरेको छ।

सोमबार राजधानीमा भएको प्रदर्शन हिंसात्मक बनेपछि हालसम्म १९ जनाले ज्यान गुमाएका छन्। घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै गृहमन्त्री लेखकले आफूले नैतिक जिम्मेवारी स्वीकार गर्नुपर्ने बताए।

उनले भने, “यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। कांग्रेस बैठकमा पनि मैले स्पष्ट भनेको छु कि म राजीनामा दिन्छु।”

यसअघि नेपाली कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले समेत गृहमन्त्री लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए। त्यसपछि लेखक बालुवाटार पुगेर प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाएका हुन्।