जेनजी आन्दोलनका घाइतेलाई सबै उपचार निःशुल्क: स्वास्थ्य मन्त्रालयको विशेष व्यवस्था


जेनजी आन्दोलनका घाइतेलाई सबै उपचार निःशुल्क: स्वास्थ्य मन्त्रालयको विशेष व्यवस्था

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको ज्यान जोगाउन सबै उपचार निःशुल्क गर्ने व्यवस्था गरेको छ। मन्त्रालयले यसका लागि देशभरका अस्पतालहरूलाई परिपत्र पठाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अग्रसरमा गरिएको निर्णयअनुसार घाइतेहरूको जीवनरक्षाका लागि आवश्यक सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नेछ।

आकस्मिक कक्षमा थप जनशक्ति
अस्पतालका आकस्मिक कक्षमा बिरामीको चाप बढेपछि मन्त्रालयले स्वास्थ्यकर्मी व्यवस्थापनमा विशेष ध्यान दिएको छ। सिभिल अस्पतालको आकस्मिक कक्षमा थप सहयोगका लागि ४ जना चिकित्सक र ६ जना सुरक्षाकर्मी खटाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। वीर अस्पतालको ट्रमा सेन्टर भने हाल पूर्ण क्षमतामा बिरामीको उपचार गरिरहेको छ।

२४ घण्टा रगत आपूर्ति हेल्पलाइन
घाइतेलाई रगत अभाव नहोस् भनेर मन्त्रालयले आफ्नो हेल्पलाइन “हेल्लो स्वास्थ्य” (१११५) लाई २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। कुनै पनि अस्पताल वा बिरामीलाई रगत आवश्यक भएमा सो नम्बरमा सम्पर्क गर्न सकिनेछ।

एम्बुलेन्स सेवा सुदृढ
एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयले आपतकालीन अपरेशन सेन्टरमार्फत समन्वय गर्ने निर्णय गरेको छ। विशेषगरी काठमाडौँ उपत्यकाभित्र रिफर भएका बिरामीलाई सहजै अर्को अस्पतालमा पु¥याउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

यससँगै, मन्त्रालयले सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेहरूको उपचारमा जुट्न आह्वान पनि गरेको छ।