जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या १३ पुगे, उपत्यकामा सयौँ घाइते


जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या १३ पुगे, उपत्यकामा सयौँ घाइते

काठमाडौँ – राजधानीमा चर्किएको जेनजी आन्दोलन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या बढेर १३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु पुष्टि भएको हो।

सिभिल अस्पतालमा मात्रै २०० भन्दा बढी घाइतेको उपचार भइरहेको छ भने ट्रमा सेन्टरमा ४९ जना भर्ना भएका छन्। ट्रमा सेन्टरमा उपचाररत ६ जनाको मृत्यु भइसकेको छ भने ५ जनाको अपरेशन भइरहेको अस्पताल स्रोतले जनाएको छ।

नयाँबानेश्वरस्थित संसद् भवन अगाडि प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा गोली लागेर दर्जनौँ घाइते भएका छन्। प्रशासनले स्थिति नियन्त्रणमा लिन माइतीघर, संसद् भवन, शीतलनिवासलगायत क्षेत्रमा राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा पनि आन्दोलन चर्किएपछि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र राजनीतिक भ्रष्टाचारविरुद्ध भन्दै देशका बुटवल, कैलाली, वीरगन्ज, विराटनगर र डडेलधुरासहितका सहरमा युवाहरू सडकमा उत्रिएर नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीहरूले भ्रष्टाचार अन्त्य गर्न, कुशासन रोक्न र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।