चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको मुस्ताङस्थित कोरला नाका आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ। आर्थिक वर्ष २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै खुला गरिएको यो नाका अब सबैका लागि व्यापारिक प्रयोजनमा पनि प्रयोग हुने भएको छ।
भन्सार विभागले यहाँको गतिविधि विस्तारका लागि भन्सार अधिकृत रमेश खड्कालाई मुस्ताङ भन्सार कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ। साथै, रसुवागढी नाकामा कार्यरत दुई नायब सुब्बा र एक कम्प्युटर अपरेटरसहित तीन जनशक्ति पनि यहाँ खटाइएको छ। यससँगै पाँच जनाको टोलीले भन्सार जाँच तथा अन्य प्रक्रिया सञ्चालन गर्ने तयारी पूरा गरेको प्रमुख खड्काले जनाएका छन्।


