वीरगन्ज : गृहमन्त्री रमेश लेखकले नेपालको भूभाग लिपुलेकलाई भारत र चीनले द्विपक्षीय व्यापार नाका बनाउने गरी गरेको सम्झौताप्रति प्रधानमन्त्री केपी ओलीले जनाएको आपत्ति सही भएको बताएका छन्। सोमबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि भएको दोहोर्याउँदै प्रधानमन्त्री ओलीको अडान सही भएको बताएका हुन्।
उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो भनेर भन्दा कुनै छिमेकी मुलुकसँगको सम्बन्ध नबिग्रिने बताए। उनले भने, ‘नेपालको भूमि हाम्रो हो भनेर भन्दा कसैले चित्त दुखाउन जरुरी छैन। यसो भन्दा कुनै पनि छिमेकी देशसँग नेपालको सम्बन्ध बिग्रिँदैन।’


