काठमाडौँ, भदौ १५ गते । आर्थिक वर्ष २०८१/८२ मा मुलुकमा लगानी गर्ने भनेर झन्डै ६५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आउँदा १२ अर्ब रुपियाँ मात्र लगानी भित्रिएको छ ।
गत आवमा ८४० उद्योगमा ६४ अर्ब ९६ करोड ५१ लाख रुपियाँ लगानी प्रतिबद्धता आएकोमा १२ अर्ब एक करोड ९० लाख रुपियाँ भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । लगानी प्रतिबद्धता उच्च भए पनि भित्रिने रकम भने न्यून छ । गत आवमा सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेकाले पनि लगानी प्रतिबद्धता धेरै आएको थियो । सो अनुसार लगानी भित्रिन सकेको छैन । नेपालमा लगानी गर्ने भनेर गत आवमा गरेको प्रतिबद्धताको १८.५० प्रतिशत मात्र रकम भित्रिएको तथ्याङ्कले देखाएको छ ।


