उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनसँग काठमाडौंमा शिष्टाचार भेटवार्ता गरेका छन्।
यस भेटमा नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने लगायत विषयहरूमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ।
भेटवार्तामा दुई देशबीचका भन्सार नाकाहरूको व्यवस्थापनलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विशेष जोड दिइएको उल्लेख छ।
दुवै पक्षले व्यापारिक गतिविधिहरूलाई सहज बनाउन भन्सार प्रक्रियालाई सरलीकृत गर्ने विषयमा सहमति जनाएका छन्। यसका साथै, बाढीका कारण क्षति पुगेको रसुवा नाकाको पुल र सडकको यथाशीघ्र पुनर्निर्माण गर्ने विषयमा पनि गहन छलफल भएको उल्लेख छ।


