काठमाडौं : हाइड्रोजनबाट इन्धन निकाल्नका लागि अध्ययन हुने भएको छ । २०६५ सालमा नै नेपालले हाइड्रोजन इन्धनको अध्ययन गरेको थियो । अध्ययनको करिब १७ वर्षपछि ग्रीन हाइड्रोजन इन्धन उत्पादनका लागि नै काम सुरु भएको छ । सरकारले कोरियाली कम्पनीसँग ग्रीन हाइड्रोजन इन्धन उत्पादनका लागि सम्झौता गरेको छ । सरकारले करिब २० मेगावाट विद्युत् खर्च गरेर हाइड्रोजन इन्धन उत्पादन गर्ने गरी विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर)को तयारी अघि बढाइएको हो । नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि–फिलोसबीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापना गर्ने समझदारी भएको छ । त्यसका लागि पहिला डीपीआर तयार गर्नुपर्ने छ ।


