नेपाल धितोपत्र बोर्डले सर्वसाधारणलाई ‘प्री–आईपीओ’ नाम दिई सेयर खरिदका लागि गरिएको भ्रामक प्रस्तावमा नफस्न आग्रह गरेको छ। सोमबार जारी सूचनामार्फत बोर्डले हाल सामाजिक सञ्जाल, इमेल, छोटकरी सन्देश (एसएमएस) तथा विभिन्न सञ्चार माध्यममार्फत केही कम्पनीहरूले प्रलोभन देखाउँदै सर्वसाधारणलाई सेयर बिक्री गर्न खोजिरहेको उल्लेख गर्दै त्यस्तो क्रियाकलाप कानुन विपरीत रहेको स्पष्ट पारेको हो।
बोर्डले सूचनामा भनिएको छ, “सार्वजनिक निष्काशन नभएका कुनै पनि कम्पनीले प्री–आईपीओ नाम दिई सेयर बिक्री गर्ने गतिविधि हाल प्रचलित कानुन विपरीत रहेको छ। त्यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई धितोपत्र ऐन, २०६३ अनुसार कानुनी कारबाही हुनेछ।” बोर्डले लगानीकर्ताहरूलाई सजग रहन आह्वान गर्दै अवैधानिक प्रस्तावमा फसे आर्थिक क्षति व्यहोर्नुपर्ने जोखिम औंल्याएको छ।


