काठमाडौं । बैंक तथा वित्तीय संस्थाले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेका जातका कृषि उपजहरूको उत्पादनका लागि सस्तोमा ऋण दिनुपर्र्ने भएको छ ।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी एकीकृत निर्देशनले समावेशी र उत्पादनमुखी बनाउन खोजेको देखिएको छ । निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले कृषि ऋणको ब्याजमा आधार दरभन्दा १ दशमलव ५ प्रतिशत मात्र बढी प्रिमियम थपेर कर्जा प्रवाह गर्न पाउनेछ ।
अहिले बैंकहरूको आधार दर सरदर ७ प्रतिशत छ । केही बैंकको त ५ प्रतिशतको हाराहारीमा आधार दर छ । यस हिसाबले नार्कको सिफारिसमा परेका कृषि उपजका लागि बढीमा साढे ८ प्रतिशत मात्र ब्याज लगाउन पाइने भएको छ ।


