काठमाडौं, भाद्र ८ – नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको १७औं संस्करणको नाडा अटो शो २०२५ राजधानीको भृकुटीमण्डपमा भव्यताका साथ सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको यो प्रदर्शनीको समापन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। ६ दिनसम्म चलेको यस अटो शोमा १,७६,७८९ दर्शकले अवलोकन गरेका थिए, जुन नाडा अटो शोको इतिहासमै सबैभन्दा ठूलो संख्यामा दर्शक सहभागिता भएको आयोजकले जनाएको छ।
यस वर्षको अटो शोमा नवीनतम विद्युतीय सवारी साधन, उड्ने कार, रोबोटिक म्यान र डगसहितका अत्याधुनिक प्रविधिका साधनहरु प्रदर्शनीको मुख्य आकर्षण बनेका थिए। प्रदर्शनी अवधिभर विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। अन्तरक्रियामा अन्तर्राष्ट्रिय अटो ट्रेड, नेपालमा विद्युतीय सवारी साधनको सम्भावना, कर्जा नीति र अटो बजार, फलाइङ कार टेक्नोलोजी, युवा मोबिलिटी तथा मेड इन नेपाल जस्ता विषयमा छलफल गरिएको थियो।
समापनकै दिन बसेको नाडाको केन्द्रीय कार्यसमिति बैठकले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाललाई ‘नाडा अटोमोवाइल्स महासंघ नेपाल’ मा रूपान्तरण गर्ने ऐतिहासिक प्रस्ताव पारित गर्दै विशेष साधारण सभा आगामी भाद्र २४ गते आह्वान गर्ने निर्णय गरेको छ।
यस वर्षका उत्कृष्ट स्टलहरुमा चारपाङ्ग्रे सवारीतर्फ एमएडब्लु अटो कर्प प्रा.लि. (डीपाल), दुईपाङ्ग्रे सवारीतर्फ रोयल इनफिल्ड (अल्फा अटोमोटिभ प्रा.लि.), लाइट कमर्सियल भेहिकलतर्फ अद्धेत इभी प्रा.लि., सपोर्टिङ्ग स्टलतर्फ हिट्को प्रा.लि. र बैंक तथा इन्सुरेन्सतर्फ ग्लोबल आईएमई बैंक लिमिटेडले अवार्ड जितेका छन्।
कार्यक्रममा प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, मन्त्रीहरु, सांसदहरु, उच्च सरकारी अधिकारी, व्यवसायी तथा विदेशी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
यस अटो शोका सह–प्रायोजकमा शिखर इन्सुरेन्स, क्याम्पा कोला, Yango, Khalti, WorldLink, CCTV Nepal, Himalayan Safety Solutions, Kist Hospital, The Plaza, Nepal Lube Oil, Mega Motors KAMA, Foton–MAW Vriddhi Commercial, INI Cinema र Ncell Business रहेका थिए।
नाडा अध्यक्ष करण चौधरीले अटो शोमा सहयोग पुर्याउने सबै पक्षलाई धन्यवाद दिँदै सुस्ताइरहेको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन र राष्ट्रिय अर्थतन्त्रलाई समेत सक्रिय बनाउन यस अटो शो महत्वपूर्ण साबित भएको बताए।


