६ भदौ, काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अधिकांश सञ्चालक कानुन विपरीत पदमा बसेको पाइएको छ । बैंकका ५ जना सञ्चालक सदस्य सहकारी ऐन २०७४ विपरीत आफ्नो पदमा बसेको खुलेको हो । गत वर्ष मात्रै नेपाल राष्ट्र बैंकले सहकारी बैंक सञ्चालक समितिमा हस्तक्षेप गरेर १३ सदस्यबाट घटाइ ७ मा सीमित गरेको थियो ।
केन्द्रीय बैंकले हस्तक्षेप गरेको एक वर्ष नपुग्दै सञ्चालक समितिमा भएका ५ सञ्चालक ऐन विपरीत पदमा बसेको पाइएको हो । सहकारी ऐन २०७४ अनुसार एक व्यक्ति एकै पटक दुई संस्थाको सञ्चालक रहन सक्दैन । तर, सहकारी बैंकका अधिकांश सञ्चालक एउटै समयमा दुई संस्थाको सञ्चालकमा छन् । विभिन्न सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष तथा सदस्य नै सहकारी बैंक सञ्चालक छन् ।


