चालु आर्थिक वर्षको पहिलो महिनामा घरजग्गा कारोबारमा उल्लेख्य गिरावट आएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा ३१ हजार ६२१ वटा मात्र लिखत पास भएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२ हजार २१४ वटाले कम हो। यसरी कारोबार २७ दशमलव ८६ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ।
कारोबारमा आएको गिरावटले प्रत्यक्ष रूपमा राजस्व संकलनमा असर पारेको विभागले जनाएको छ। चालु वर्षको साउन महिनामा ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको छ भने अघिल्लो वर्षको सोही महिनामा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ संकलन भएको थियो। यस आधारमा राजस्व १४ प्रतिशतले घटेको छ।


