काठमाडौं । कुल गार्हस्थ उत्पादन (जीडीपी)मा अस्थिरता, निरन्तर मुद्रास्फीतिको दबाब र सार्वजनिक खर्च दायित्वलगायतका कारणले नेपालको अर्थतन्त्र बहुआयामिक जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।
‘वित्तीय जोखिम र रणनीति’ प्रतिवेदनमार्फत अर्थ मन्त्रालयले राजस्व संकलनको अनिश्चितता, खर्चको विसंगति, ऋणको बढ्दो दबाब, प्राकृतिक प्रकोप र सार्वजनिक संस्थान तथा संघीय संरचनाजन्य चुनौतीहरूका कारण वित्तीय जोखिम भएको उल्लेख गरेको हो ।
अर्थ मन्त्रालयले खासगरी ११ प्रमुख वित्तीय जोखिम पहिचान गरेको छ । यसलाई न्यूनीकरण गर्न २१ वटा ठोस रणनीति अघि सारेको अर्थ मन्त्रालयले दाबी गरेको छ । यी रणनीति समष्टिगत आर्थिक जोखिम, विशिष्ट जोखिम अर्थात् प्राकृतिक प्रकोप र संस्थागत जोखिमका तीन समूहमा वर्गीकृत गरिएको छ ।


