काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/८२ मा बीमा कम्पनीहरूको व्यवसायमा सुधार देखिएको छ । कोभिड–१९ महामारी र त्यसपछि आर्थिक गतिविधिमा देखिएको शिथिलताका कारण सुस्ताएको बीमा कम्पनीहरूको व्यवसायले पुनः गति लिन थालेको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८१/८२ मा लघुबाहेकका जीवन बीमा कम्पनीहरूले १ खर्ब ८१ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो अघिल्लो वर्षको भन्दा १६ दशमलव शून्य ५ प्रतिशतले बढी हो । उनीहरूले आव २०८०/८१ मा १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका थिए । आव २०७९/८० को तुलनामा २०८०/८१ मा जीवन बीमा कम्पनीहरूको व्यवसाय ९ दशमलव ८१ प्रतिशतले मात्र बढेको थियो । त्यसको तुलनामा कम्पनीहरूको गत आवमा व्यवसाय विस्तार भएको छ ।


