काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रहरूका भन्सार अधिकारीहरूको तीन दिने बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। नेपालले आयोजना गरेको उक्त बैठकमा सदस्य राष्ट्रहरू नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारीहरू सहभागी छन्।
कार्यक्रमको उद्घाटन गर्दै अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले सबै सदस्य राष्ट्रहरूबीच सीमापार व्यापारलाई सहज र द्रुत बनाउन ठोस सहकार्य आवश्यक रहेको बताए। उनले भन्सार प्रक्रियामा आधुनिक प्रविधिको प्रयोग र समन्वयात्मक सीमा व्यवस्थापनले मात्र व्यापारमा हुने ढिलाइलाई घटाउन र पारदर्शिता बढाउन सहयोग पुग्ने तथा यसै माध्यमबाट क्षेत्रीय आर्थिक समृद्धि हासिल गर्ने साझा लक्ष्य पूरा गर्न सकिने समेत विश्वास व्यक्त गरे।


