काठमाडौं । नेपालमा सुन बजार लामो समयदेखि अस्थिर रहँदै आएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालका अनुसार यसको प्रमुख कारण सुन आयातको अव्यवस्था हो।
मंगलबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको राउन्ड टेबल कार्यक्रममा बोल्दै दाहालले सुन बजारको अस्थिरता र उपभोक्तामा पर्नेको असरबारे प्रष्ट पारे। उनका अनुसार आयातलाई व्यवस्थित नगरेसम्म उपभोक्ताले सधैं समस्या भोगिरहनुपर्नेछ।
“जबसम्म हामीले सुनको आयात व्यवस्थापन गर्न सक्दैनौं, तबसम्म यसको समस्या निरन्तर रहिरहन्छ,” दाहालले भने, “यो तस्करी मात्र होइन, यो अवसरवाद हो। जहाँ मौका पाउँछन्, व्यापारी वा युवा दौडिन्छन्।”
दाहालका अनुसार नेपालमा सुनजन्य उद्योग नहुनु पनि यस क्षेत्रको ठूलो चुनौती हो। उनले भने, “हामी काँचो सुन प्रयोग गर्दैनौं, यसलाई रूपान्तरण गरेर मात्र प्रयोग गरिन्छ। तर नेपालमै सुनजन्य उद्योग छैन। मर्मत केन्द्र उद्योग होइन। उद्योग दर्ता भई कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गरेपछि मात्रै त्यो उद्योग मानिन्छ।”
सुनको मूल्य र मागबारे अर्थविद् चन्द्रमणि अधिकारीले सामाजिक, सांस्कृतिक र भौतिक कारण जोड्दै व्याख्या गरे। उनका अनुसार सुन न बिग्रिने, न खिया लाग्ने र शरीरमा सुहाउने भएकाले यसको मूल्य अरु धातुभन्दा महँगो रहँदै आएको छ।
“सुनलाई नेपाली समाजमा परम्परादेखि नै विशेष स्थान दिइँदै आएको छ। विवाह, संस्कार, पूजापाठदेखि सामाजिक प्रतिष्ठासम्म यसको प्रयोग हुने गरेको छ,” अधिकारीले भने, “यही सांस्कृतिक र सामाजिक महत्वका कारण यसको माग उच्च छ र मूल्य पनि लगातार बढिरहेको छ।”
विशेषज्ञहरूका अनुसार सुन बजारको अस्थिरता घटाउन आयात व्यवस्थापन र उद्योग विकास अपरिहार्य देखिन्छ।


