रसुवामा तीन साताअघि आएको बाढी र पहिरोका कारण हालसम्म ८४ करोड रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार साउन ८ गतेसम्म ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
असार २३ गते आएको बाढी पहिरोले रसुवागढी नाका आसपासको भन्सार यार्ड, जाँचपास भएका र हुन बाँकी सवारी साधन तथा कन्टेनरहरू बगाएको थियो। घटनामा ११ जनाको मृत्यु भएको थियो भने १९ जना अझै बेपत्ता छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म ११ वटा बीमा कम्पनीका बिमितहरूले ६८ वटा आवेदनबाट ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको बीमा दाबी गरेका छन्।
दाबी रकममध्ये सबैभन्दा धेरै सम्पत्ति बीमा लेखअन्तर्गत परेको छ । यस शीर्षकमा ६ वटा दाबीबाट ५८ करोड १ लाख रुपैयाँ बराबरको क्षतिको दाबी गरिएको छ। त्यस्तै सामुद्रिक बीमामा ७ वटा दाबीबाट १६ करोड २३ लाख १० हजार रुपैयाँ क्षतिको बीमा दाबी गरिएको छ ।
त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत ३ वटा आवेदनबाट ५ करोड ५० लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक) अन्तर्गत) ३८ वटा आवेदनबाट २ करोड ५९ लाख ५० हजार रुपैयाँ र मोटर बीमा (निजी) अन्तर्गत १४ वटा बीमा दाबीबाट २ करोड १४ लाख ५० हजार रुपैयाँ बीमा दाबी गरिएको छ ।
प्राधिकरणका अनुसार घटनाबाट थप दाबीहरू आउन सक्ने सम्भावना रहेको छ । बीमा कम्पनीहरूलाई सत्य तथ्य छानबिन गरी यथाशीघ्र दाबी हस्तारण गर्न निर्देशन दिइएको छ।


