काठमाडौं : भन्सार विभागले मंगलबार गत आर्थिक वर्ष २०८१–८२ को आयात र निर्यातको तथ्यांक सार्वजनिक गरेको छ ।
विभागको तथ्यांकअनुसार गत वर्ष २० खर्ब ८१ अर्बको वैदेशिक व्यापार भएको छ । १८ खर्ब ४ अर्बको आयात भएको छ भने २ खर्ब ७७ अर्बको निर्यात भएको छ ।
पौने तीन खर्बको निर्यातलाई सरकारले आफ्नो सफलता मानिरहेको छ । अहिलेसम्म यो परिमाणको निर्यात भएको पनि थिएन । यसअघि आव २०७८–७९ मा निर्यात व्यापार दुई खर्ब कटेको थियो । त्यसपछिका दुई आवमा भने डेढ खर्बको हाराहारीमा मात्र निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा निर्यात करिब ८२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १ खर्ब ५२ अर्बको निर्यात भएको थियो ।


