काठमाडौं । सरकारले बर्सेनि लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि सरकारको सञ्चित कोष (ट्रेजरी पोजिसन) मा घाटाबाट मुक्त हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा सरकारको ट्रेजरी पोजिसन २ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँले घाटामा रहेको छ । सरकारले आम्दानीभन्दा बढी खर्च गर्दा सरकारीको सञ्चित कोष घाटामा जाने गर्छ ।
खर्चभन्दा राजस्व कम उठे पनि ट्रेजरी पोजिसनमा सामान्य सुधार
गत आर्थिक वर्ष २०८१–८२ मा राजस्व, वैदेशिक अनुदान र ऋणबाट १५ खर्ब ४३ अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको सरकारले १५ खर्ब २३ अर्ब १४ करोड रुपैयाँ खर्च गरेको छ । खर्चभन्दा राजस्व कम उठेपनि वैदेशिक सहायता र अनुदानका कारण गत आवमा ट्रेजरी पोजिसनमा २० अर्ब रुपैयाँले कमी आएको छ । अघिल्लो आर्थिक वर्ष २०८०–८१ को असार मसान्तसम्ममा २ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ सञ्चित घाटा रहेकोमा आव २०८१–८२ सम्म आइपुग्दा २ खर्ब ४ अर्ब ९५ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ ।


