काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक र श्रम बिना देशको प्रगति सम्भव नभएको बताएका छन्। सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले श्रमिकको सम्मान बिना समृद्धि सम्भव नभएको दाबी गरेका हुन्।
उनले सरकारले श्रमिकलाई सधैँ भरोसा दिने बताए। एमाले अध्यक्षसमेत रहेका ओलीले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेको जानकारी गराए। ‘श्रम बिना प्रगति सम्भव छैन र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन। यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेका थियौं। त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्।’, उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘अहिले सरकारले हिजो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको छ। श्रमिकलाई एक मुठ्ठी भरोसा महत्त्वपूर्ण हुने छ।’


