‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, उत्कृष्ट शैक्षिक संस्थाहरू र व्यक्तित्वहरू सम्मानित


‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, उत्कृष्ट शैक्षिक संस्थाहरू र व्यक्तित्वहरू सम्मानित

काठमाडौं – केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा आयोजित तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शुक्रबार ललितपुरस्थित ‘द प्लाजा’मा सम्पन्न भयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरू तथा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

कार्यक्रमको प्रारम्भमा ‘के नेपाल शैक्षिक हब बन्न सक्छ?’ विषयमा प्यानल छलफल आयोजना गरिएको थियो। छलफलमा पूर्वशिक्षामन्त्री विद्या भट्टराई, संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, GATE कलेजका प्रमुख कार्यकारी अधिकृत खेमराज लकाई र इक्यान अध्यक्ष शेषराज भट्टराई सहभागी थिए। उनीहरूले “स्टडी इन नेपाल” अवधारणाको कार्यान्वयनमा सरकारी नीतिगत कमजोरीलाई मुख्य चुनौतीका रूपमा औंल्याउँदै त्यसको सफलताका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेको धारणा राखे। प्रकृति अधिकारीले कार्यक्रमको सहजीकरण गरे।

समारोहमा शिक्षामन्त्री पन्तले यस्ता सम्मानले शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरूलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै, राज्य, निजी क्षेत्र र समुदायबीच सहकार्यको खाँचो औंल्याए। उनले शिक्षा क्षेत्रको रूपान्तरणमा यस्ता पहलहरू आवश्यक रहेको उल्लेख गरे।

‘शिक्षा क्षेत्रका प्रोज्ज्वल नक्षत्र २०८२’ उपाधि अन्तर्गत लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान दिँदै आएका लिटिल एन्जल्स ग्रुपका संस्थापक अध्यक्ष तथा पूर्वराज्यमन्त्री उमेश श्रेष्ठलाई सम्मान गरियो। उनले शिक्षा र स्वास्थ्यसम्बन्धी नीतिनिर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए।

यस वर्षको अवार्ड समारोहमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, चौधरी ग्रुपका प्रबन्ध निर्देशक अरुण चौधरी र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराललाई ‘शिक्षा विशेष सम्मान’ प्रदान गरिएको थियो। साथै, शिक्षाविद् प्रा. डा. प्रकाशमान श्रेष्ठ, प्रा. डा. गणेशबहादुर सिंह, र GATE कलेजका CEO खेम आर लकाईलाई ‘शिक्षा सम्मान’ बाट सम्मानित गरियो।

देशभरका विभिन्न शिक्षण संस्थाहरूले पनि विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन्। सामुदायिक शिक्षामा योगदानको आधारमा बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई उत्कृष्ट विद्यालय घोषित गरियो। संस्थागत तर्फ ललितपुरको प्रसादी एकेडेमी, नेशनल कलेज अफ कम्प्युटर स्टडिज (NCCS) र जेभियर इन्टरनेसनल कलेजले अवार्ड प्राप्त गरे।

त्यस्तै, काठमाडौं मोडल सेकेन्डरी स्कूल, ट्रिनिटी कलेज, पिनाकल, मुनलाइट, ओमेगा, टेक्सास, मनास्लु, समृद्धि स्कुल, ब्रिजवाटर, अरनिको, मदरल्याण्ड, र मोर्गन इन्टरनेसनल कलेजले विभिन्न शीर्षकमा शैक्षिक उत्कृष्टता पुरस्कार जितेका थिए।

‘उत्कृष्ट प्लस टु’ अवार्ड प्राप्त गर्ने शैक्षिक संस्थाहरूमा काठमाडौं मोडल स्कुल (बागबजार), युनाइटेड एकेडेमी, रिलायन्स, जेभियर लाजिम्पाट, किस्ट, लिभरपुल, लिटिल एन्जल्स, भीएस निकेतन, ट्रिटन, नेपाल मेगा, नेपाल काष्ठमण्डप, र आइएसटी समावेश थिए।

सातवटै प्रदेशबाट छानिएका सामुदायिक विद्यालयहरूमध्ये ओखलढुंगाको गोल्मादेवी, रौतहटको बीपी कोइराला आदर्श, काठमाडौंको विश्व निकेतन, कास्कीको अमरसिंह, दाङको श्री मावि, सल्यानको सारदा जनकल्याण, र बैतडीको ज्ञानेश्वर माविलाई ‘प्रदेशस्तरीय उत्कृष्ट विद्यालय’ को सम्मान प्रदान गरियो।

यस अवार्डमा विदेशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई परामर्श सेवा दिँदै आएका प्रमुख शैक्षिक परामर्श संस्थाहरूलाई पनि ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी’ शीर्षकमा विभाजन गरिएको थियो। युकेतर्फ अल्टिमेट, अष्ट्रेलियातर्फ द नेक्स्ट, न्यूजिल्यान्डतर्फ एक्सेस, अमेरिकातर्फ अल्फा बिटा, क्यानडातर्फ म्यापल, जापानतर्फ सक्सेस एब्रोड, आयरल्यान्डतर्फ हब इन्टरनेसनल, साथै ग्रेस, एक्सपर्ट, एजुकेसन पार्क, भिरा, वेद, अप्टिमस, राइट पाथ र ओली एन्ड एसोसिएट्स जस्ता संस्थाहरूले पनि विभिन्न विधामा सम्मान प्राप्त गरे।

कार्यक्रममा नीति निर्माता, शिक्षा व्यवसायी, शिक्षक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक संस्था केन्द्रबिन्दुले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ यस्ता सम्मानजनक पहलहरू आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको छ।