काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक सम्पत्ति विवरणअनुसार उनको र परिवारको नाममा गरी ललितपुर र नवलपरासीमा घरजग्गा, ७ ओटा कम्पनीको शेयर, ४५ तोला सुन र हिरा तथा बैंक खातामा २० लाख रुपैयाँ मौज्दात छ ।
गभर्नर पौडलले श्रीमती प्रतिभाको नाममा ललितपुर महानगरपालिका-४ भैसेंपाटी र नवलपरासीको गैंडाकोटमा घरजग्गा जोडेका छन् । भैसेपाटीमा ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घर छ । उक्त घर १ करोड ५५ लाख रुपैयाँमा खरीद गरिएको छ । गैडाकोटको घरजग्गाको मूल्य ६० लाख उल्लेख गरिएको छ । दुवै सम्पत्ति पैतृक तथा स्वआर्जनबाट खरीद गरिएको सम्पति विवरणमा उल्लेख छ ।


