बीमा नियामकले तोकेको ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन जीवन बीमा कम्पनीहरू दौडमा छन्। बीमा समितिले सबै जीवन बीमा कम्पनीलाई चालु आर्थिक वर्षको अन्त्य (असार मसान्त) सम्ममा चुक्तापूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको छ। निर्धारित समयसीमा नजिकिँदै जाँदा निजी क्षेत्रका अधिकांश कम्पनीहरू लक्षित पूँजी नजिक पुगेका छन् भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी भने सबैभन्दा पछाडि परेको छ।
हिमालयन लाइफ, नेपाल लाइफ, नेशनल लाइफ, सानिमा रिलायन्स, सुर्यज्योति, आइएमई, सिटिजन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशनले ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याइसकेका छन्। प्रभु महालक्ष्मी, रिलायबल नेपाल, सन नेपाल र एसियन लाइफले पूँजी पुर्याउने अन्तिम तयारी गरिरहेका छन्।

